पोषिलो सातुको ‘ब्राण्डिङ्’मा निरन्तर पृथ्वी
पाेखरा | असोज १६, २०८०
पोखराः के तपाइले सातु खानुभएको/पिउनुभएको छ ? वा, सातु भनेको थाहा छ ? यस्तो प्रश्न जो कोहीलाई सोधेपनि उत्तर ‘छ’ भन्ने आउँछ ।
नआओस् पनि कसरी नेपालको कुनैपनि भूगोलमा बस्ने वा कुनैपनि उमेर समूहकाले सातुको उपभोग पक्कै गरेका छन् ।
सामान्यतयः आफ्नै परिवेशमा फलाइएको वा उपलब्ध भएको अन्नको सम्मीश्रणबाट सातु बनाइन्छ ।
ठ्याक्कै भन्नुपर्दा भूगोल अनुसार मकै–भटमास, गहुँ, जौ, उवालाई भुटेर जाँतोमा पिसेपछि त्यसको पिठोलाई पानीमा सर्वतजस्तो बनाएर पिउने पुरानो चलन हो । त्यस्तै, कतै लामो पैदलयात्रा गर्दा ‘सातु, सामल कस्ने’ चलनै छ ।
सातु केवल पेट भर्ने वा भोक टार्ने बहानामात्र होइन, यो पोषिलो र अडिलो पनि हुन्छ । अझ भनौं, सातु ‘गुनिलो’ छ । यही पोषिलो, अडिलो र गुनिलो सातुको खाजा घरमा आमाले खुवाएको सम्झनाले पोखराका २५ वर्षे ठिटोलाई बेचैन बनायो । विदेशमा व्यवस्थापन अध्ययन गरेका उनै ठिटो पृथ्वीकल्याण पराजुली अहिले होमटाउन पोखराबाट सातुलाई ब्राण्डिङ् गर्न दिनरात कस्सिएका छन् ।
पराजुलीसँगको सातु–संवादमा उनले सुरुमै सुनाए ‘सातुको महिमा अपरम्पार छ ।’ विद्यालयबाट घर फर्केपछि घरमा खाइने खाजा सातुले कहिलेकाही बेलुका भातै खान नपर्ने उनको अनुभव छ । त्यसमाथि विदेशमा रैथाने खानालाई दिइएको प्राथमिकता र बजारीकरणबाट उनी परिचित नै थिए ।
विदेशमा रैथाने खाना प्रवद्र्धन गरेको देखेर चकित भइरहेका पराजुली पोखरा फर्किएपछि जंकफुडले साम्राज्य जमाइरहेको देखेर पिरोलिए । उनको चिन्ता थियो, अब गाउँ, टोल, समाज रोगी बन्दैछ ।
देशमै केही गर्ने हुटहुटी बोकेका पराजुली ‘के गर्ने !’ भन्ने सोंच बनाइरहेकाबेला विश्वलाई कोरोनाले गाँज्यो । एकाएक उनीपनि घरको चारघेरामा थन्किए । कोरोना कहरसँग जुझ्न पोसिलो खानाको आवश्यकताबारे प्रचार हुन थाल्यो । रोगसँग लड्नसक्ने बलियो खाना त्यही सातु थियो । र, त्यहीबेला उनको दिमागमा बस्यो ब्राण्ड ‘पोषिलो’, उत्पादन ‘सातु ।’
उनको योजनाले आजभन्दा डेढ वर्षअघि जरा हाल्यो । उक्त जरामा उनको १ करोड रुपैयाँ बढी लगानी भएको छ । यही जरामार्फत उनी उद्यममा जोडिए । ‘सातुले मलाई देशभरका किसान, बजार र उपभोक्तासँग जोडेको छ’
पराजुली भन्छन् ‘अझ मलाई यहाँको जीवनशैली र स्वस्थ समाजसँग जोडेको छ ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रबाट सातुका सामग्री ल्याइन्छ । ‘मैले नटेकेको देशको भूगोल सातुकै कारण टेकेको छु, आवश्यक अन्नको गूणस्तर छनौट गर्न र मूल्य निर्धारण गर्न सम्भव भएसम्म म आफै पुग्ने गरेको छु’ पराजुलीले सुनाए ।
बजारमा उत्पादन बेच्ने र नाफा आर्जन गर्ने व्यापारिक पाटो भएपनि उत्पादनको गुणस्तर र सुनिश्चितता उपलब्ध गराउने आफ्नो ‘प्रोफेस्नलिज्म’बारे उनी स्पष्ट पार्छन् । अघिल्लो आर्थिक वर्षको मध्यदेखि उनले बजारमा सातु पठाए । सोही आर्थिक वर्ष सातुले गण्डकीको सिमाना नाघेर पूर्वका प्रमुख सहरमा प्रवेश ग¥यो ।
यथेष्ठ बजार अध्ययन गरी तयार पारिएको मौलिक र रैथाने सातु जसै बजारमा आयो, प्रायःले मन पराए । यसअघि बजारमा उपलब्ध सातु केवल प्लाष्टिकमा पोका पारिएर बेच्ने गरिएको हुन्थो । तर पोषिलो ब्राण्डले पोषणवीद्को राय अनुसार सातुमा आवश्यक सम्पूर्ण पदार्थ समेटेको थियो । जसको समयावधि नै १ वर्ष राखिएको छ । ‘हामीसँग सातुमा प्रयोग हुने अन्नको ग्रेडिङ् हेर्ने, गुणस्तर र मात्रा हेर्ने, प्याकेजिङ र स्टोरेज हेर्ने छुट्टै टिम छ’ पराजुलीले भने
‘बजारमा पाइने विदेशका म्युस्ली, सिरियलजस्तै सातुले पनि स्टान्डर्ड मेन्टेन गरेको छ ।’
उनका अनुसार हाल बजारमा ‘मल्टीग्रेन’, प्रोटिन प्लस’ र ‘नट्टी डिलाइट’ गरी ३ प्रकार उपलब्ध छ । जसमध्ये मल्टीग्रेन जुनसुकै उमेर समूहलाई उपभोग गर्न मिल्ने बनाइएको छ भने प्रोटीन प्लस स्पोर्ट र फिटनेशमा लाग्ने समूहप्रति लक्षित छ । त्यस्तै, बालबालिकालाई नट्टी डिलाइट उपयुक्त हुन्छ ।
सातुको नामसँगै दाम पनि फरक छ । मल्टिग्रेनको ३ सय, प्र्रोटिनप्लसका ४ सय ८० र नट्टी डिलाइटको ४ सय ४० रुपैयाँ रहेको छ । जसको तौल ८ सय ग्राम रहेको पराजुलीले बताए । त्यस्तै २ किलोको मूल्य उल्लेखित रकमको दुगुना रहेको छ ।
सातु हाल नेपालका चलनचल्तीमा रहेका डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपनि भाटभटेनीमा भने नपाइने उनले जनाए । ‘भाटभटेनीमा राख्ने प्रयास भइरहेको छ, सम्भवतः त्यहाँपनि छिट्टै उपलब्ध हुनेछ । पोखराको पूर्वमा राम्रै बजार लिएको सातु अब पश्चिममा बिस्तार गर्ने उनले बताए ।
अब बिहान होस् वा बेलुका सातु उपभोग गर्ने चलन बढ्दै गएको बताउँदै उनले यसलाई नेपालको पपुलर ब्राण्ड बनाइछाड्ने उल्लेख गरे । साथै, सातुको ब्राण्ड एम्बेसडरमा नेपालका नामुद फिटनेश कोच सुकदेव कार्की रहेका छन् ।
उनै कार्कीको प्रेरणास्वरुप स्पोर्टसका विभिन्न विधामा रहेका खेलाडीहरुको डाइटमा सातु पनि समेटिएको छ । ‘बिरामी होस् वा खेलाडी, बच्चा होस् वा वृद्ध, सातु सबैकालागि हो’ पराजुली भन्छन् ‘न सातुमा कुनै केमिकल हुन्छ नत यसको कुनैै साइड इफेक्ट ।’
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...

